Sajha Bichar
'

नेपाली राजनीतिका मुख्य दुश्मन: नेपो-बेबी र क्रिप्टोक्रेसी, अस्थिरताको जरो र दुई तिहाइ सरकार असफल बन्नुको कारण


Author Image
सोमवार, पौष २८, २०८२

बिरेन्द्र सिंह, नयाँ दिल्ली। नेपालको राजनीति दशकौँदेखि परिवर्तन, बलिदानी र जनसशक्तीकरणका नारामा अगाडि बढेझैँ देखिए पनि व्यवहारमा लोकतन्त्रको आत्मा क्रमशः कमजोर हुँदै गएको यथार्थ लुकाउन सकिँदैन। बारम्बार सरकार परिवर्तन, नीति-अस्थिरता र जनआस्थाको क्षयको मूल कारण खोज्दा दुई गम्भीर प्रवृत्ति स्पष्ट रूपमा देखिन्छन् जुन हुन् नेपो-बेबी (Nepotism) र क्रिप्टोक्रेसी (Kleptocracy)। यी नै नेपाली राजनीतिका मौन तर शक्तिशाली दुश्मन हुन्।

नेपो-बेबी: वंशवादको वैधानिकीकरण:

नेपो-बेबी भन्नाले योग्यता, विचार र योगदानका आधारमा होइन, पारिवारिक सम्बन्ध छोरा-छोरी, नातेदार, ज्वाइँ, सालो अथवा अन्य नजिकका आफन्तको आधारमा राजनीतिक शक्ति हस्तान्तरण हुनु हो। यस प्रवृत्तिले राजनीतिमा गहिरो क्षति पुर्‍याएको छ। योग्य, इमानदार र संघर्षशील कार्यकर्ता पाखा लाग्छन् जस्ले राजनीति जनसेवाको माध्यम होइन, वंश चलाउने पेशा बन्छ। नयाँ सोच र वैकल्पिक नेतृत्व जन्मिन नपाउँदै दबाइन्छ। पार्टीहरू विचारको विद्यालय होइन, परिवारको कम्पनी बन्छन्। यसरी नेपो-बेबी प्रवृत्तिले लोकतन्त्रको मूल मर्म समान अवसर र जनउत्तरदायित्व-लाई नै समाप्त पार्दै लगेको अहिलेको अवस्था छ।

क्रिप्टोक्रेसी: लुटतन्त्रको संस्थागत अभ्यास:

क्रिप्टोक्रेसी भनेको राज्यसत्ता प्रयोग गरेर सार्वजनिक स्रोत, सम्पत्ति र अधिकारको योजनाबद्ध दोहन गर्नु हो। आज नेपालमा भ्रष्टाचार कुनै अपवाद होइन, संरचनागत अभ्यास बनेको छ। राजनीति सेवा होइन, लगानी बनेको छ। नीति, कानुन र निर्णय पैसाको प्रभावमा बनाइन्छ। गरिब झन् गरिब, शक्तिशाली झन् शक्तिशाली बन्छ। जनतामा राज्य र राजनीतिप्रति वितृष्णा बढ्छ। जब सत्ता कमाउनुको मुख्य उद्देश्य धन आर्जन बन्छ, तब नीति, नैतिकता र जनहित सबै किनबेचका वस्तुमा रूपान्तरित हुन्छन्।

नेपो-बेबी र क्रिप्टोक्रेसी: खतरनाक गठजोड:

यी दुई प्रवृत्ति छुट्टाछुट्टै होइनन्, एक-अर्काका पूरक हुन्। नेपो-बेबीले अयोग्यलाई सत्तामा पुर्‍याउँ। क्रिप्टोक्रेसीले त्यो सत्तालाई लुटको साधन बनाउँछ। यसरी राजनीति सुधार होइन, दुष्चक्रमा फस्छ। पुराना मात्र होइन, नयाँ भनिने दलहरू पनि प्रश्नको घेरामा यी प्रवृत्ति सबैभन्दा खुलेआम र निर्लज्ज रूपमा लामो समय सत्ता उपभोग गरेका पुराना ठूला दलहरूमा देखिन्छन्। तर समस्या त्यतिमै सीमित छैन। आफूलाई बैकल्पिक, नयाँ र दार्शनिक भनेर प्रस्तुत गर्ने केही दलहरूको भित्री संरचनामा पनि यही रोग मौलाउँदै गएको यथार्थ लुकाउन सकिँदैन। घोषित विचार र आन्तरिक अभ्यासबीच गहिरो अन्तरविरोध हुँदा दल विचारको प्रतिनिधि होइन, केवल आवरण बन्न पुग्छ। परिणामतः निस्वार्थ, इमानदार र वैचारिक रूपमा प्रतिबद्ध नेता–कार्यकर्ता निराश बन्छन्। जबकि शक्ति, पहुँच र चलखेलमा निपुर्णहरू निर्णायक स्थानमा पुग्छन्। यही आन्तरिक द्वन्द्वले समग्र राजनीतिक अस्थिरतालाई थप मलजल गरिरहेको छ।

निरक्षर तर इमानदार मतदाता र चुनावी दुरुपयोग:

नेपाली गाउँ-बस्तीमा बसोबास गर्ने ठूलो मतदाता वर्ग आज पनि निरक्षर  छन्। तर ग्रामीण क्षेत्रका धेरै जस्तो सोझा नागरिकहरू राजनीतिक रूपमा भन्दा व्यबहारिक सम्बन्धमा  इमानदार हुन्छन् । उहाँ हरुले आफ्नो गाउँ बस्तिको विश्वासिलो पात्रलाई  आफू भन्दा माथिको बिश्वास र भरोसाको रुपमा लिएका हुन्छन्  उहाँहरुको चेतना , विबेक र आशा जहाँ टिकेको हुन्छ  त्यही मतदान गर्छन् ।  तर यही इमानदारीलाई दलका झोले कार्यकर्ता र नेताहरूले वर्षौँदेखि दुरुपयोग गर्दै आफ्नो अनेकौं पार्टीगत झिनो स्वार्थमा असल, सोझा र इमान्दार मतदाताहरुको मताधिकारको गलत प्रयोग गर्दै आएको भोगाइहरु अझै जस्ताको त्यस्तै ग्रामीण क्षेत्रमा जिउदै छन् । भोट माग्ने बेला भावनात्मक नारा चुनाव सकिएपछि पाँच वर्षे बेवास्ता विकासको नाममा आश्वासनको व्यापार जनतालाई कार्यकर्ताको भीडमा सीमित गर्ने संस्कार यो असमान सम्बन्ध लोकतन्त्र होइन, राजनीतिक शोषण हो।

निष्कर्ष : समाधान के हो ?

नेपाली राजनीतिलाई जोगाउने हो भने वंश होइन, योग्यता र विचार को मूल्यांकन हुनुपर्छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइनुपर्छ। बौद्धिक, इमानदार र निस्वार्थ व्यक्तिहरू सक्रिय राजनीतिमा आउनुपर्छ । जनता स्वयं सचेत, प्रश्नकर्ता र निर्णायक बन्नुपर्छ जबसम्म नेपो–बेबी र क्रिप्टोक्रेसीलाई राजनीतिक रूपमा अस्वीकार गरिँदैन, तबसम्म शासन फेरिएला, तर व्यवस्था सुध्रिँदैन। यही कारण आजसम्म कुनै पनि पार्टीले दुई तिहाइको जनादेशसहित स्थिर सरकार निर्माण गर्न सकेको छन। र भविष्यमा पनि कठिन देखिन्छ। देश बचाउने हो भने यी दुबै प्रवृत्तिलाई चिनेर, चुनौती दिएर, जरा उखेल्नैपर्छ। नत्र लोकतन्त्र चुनावमा मात्र सीमित हुने छ, जनताको जीवनमा होइन।

Views: 273

प्रतिक्रिया

सम्बन्धित खबर