Sajha Bichar
'

किताब जात्रा नयाँ दिल्लीको पाँचौं संस्करण आइतबार सम्पन्न


Author Image
सोमवार, फागुन ४, २०८२

सुबास बस्नेत,नयाँ दिल्ली । किताब जात्रा नयाँ दिल्ली २०२६ को पाचौं संस्करण सम्पन्न आइतबार नयादिल्लीमा सम्पन्न भएको छ। साहित्य, कला र सांस्कृतिक सम्बन्धलाई कार्यक्रमले मुख्य एजेण्डामा राखेको थियो । नयाँ दिल्लीको हौजखासस्थित पीएचडी हाउसमा आयोजित कार्यक्रममा भारत–नेपालबीचको साहित्यिक र सांस्कृतिक सहकार्य र पठन सस्कृतिको विकासमा जोड दिईएको थियो।

बिहान १० बजेबाट सुरु भएको कार्यक्रमको उद्घाटन सत्रको संचालन पत्रकार समा थापाले गरेकी थिइन्। भारत र नेपालको राष्ट्रिय गानसँगै प्रमुख अतिथि, किताब जात्रा नेतृत्व तथा विशिष्ट अतिथिहरूले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए। किताब जात्रा फेस्टिभलका निर्देशक ऋषि राम अधिकारीले स्वागत मन्तव्य दिदै किताब जात्राले सीमा पारको साहित्यिक संवादलाई सशक्त बनाएको उल्लेख गरेका थिए। विशेष अतिथि कवि विप्लव प्रतीकले कविता र विचारमार्फत सांस्कृतिक सम्बन्धको गहिराइ प्रस्तुत गरेका थिए ।

भारतका पूर्व नेपाल राजदूत तथा अन्य विशिष्ट अतिथिहरूले नेपाल–भारत सम्बन्ध कला, साहित्य र अर्थतन्त्रका माध्यमबाट अझ प्रगाढ बन्दै गएको धारणा राखेका थिए। कार्यक्रममा ‘सावर्णी’ कृतिका लागि “किताब यात्रा बेस्ट सेलर अवार्ड २०८२” बाट डा. श्रीधर खनाललाई सम्मान गरिएको थियो।

एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बराल, भारत–नेपाल केन्द्रका अध्यक्ष तथा भारतका पूर्व नेपाल राजदूत राजदूत मञ्जीव सिंह पुरी, तथा भारतका लागि नेपालका राजदूत डा शंकर शर्माले सम्बोधन गर्दै दुई देशबीच साहित्यिक र आर्थिक सहकार्य विस्तारको आवश्यकता औंल्याएका थिए।

भारत–नेपाल सम्बन्धबारे विशेष संवाद:

‘कला, संस्कृति, साहित्य र अर्थतन्त्रको परिप्रेक्ष्यमा भारत–नेपाल सम्बन्ध’ विषयमा आयोजित ‘इन कन्वर्सेसन’ सत्रमा नेपालका लागि भारतस्थित राजदूत डा शंकर शर्मा र वरिष्ठ पत्रकार टीकाराम यात्रीबीच गहन संवाद भएको थियो। उक्त सत्रमा सांस्कृतिक कूटनीतिले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकामाथि प्रकाश पारिएको थियो।

कथा, कविता र पुस्तक विमोचन:

‘फिक्सन र कविताको कला’ विषयमा आयोजित पुस्तक विमोचन तथा प्यानल छलफलमा नयनराज पाण्डे, अमर न्यौपाने, अनुराग बस्नेत र कवि महेशबाबु तिमल्सिनाले सहभागिता जनाएका थिए। उनिहरूले समकालीन नेपाली साहित्यको प्रवृत्ति, अनुवादको आवश्यकता र पाठक विस्तारका सम्भावनाबारे विचार व्यक्त गरे। कवि विप्लव प्रतीक, मल्लिका शाक्य र सम्राट बाबु तिमल्सिनाको कविता वाचनले कार्यक्रमलाई भावनात्मक उचाइमा पुर्‍याएको थियो। सो अवसरमा पुस्तक प्रदर्शनी तथा हस्ताक्षर सत्र पनि सम्पन्न भएको थियो।

नयाँ पुस्ताको पत्रकारिता र प्रकाशनबारे बहस दोस्रो सत्र ‘नयाँ युगको पत्रकारिता र प्रकाशन’ विषयमा केन्द्रित थियो। भारत र नेपालबीच अनुभव आदान–प्रदान तथा सहकार्य विस्तार गर्ने विषयमा भारतका प्रकाशक, नीतिनिर्माता र सञ्चारकर्मीहरूले धारणा राखेका थिए।

नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्‍याउने पहल:

‘नेपाली साहित्य र ज्ञान परम्परालाई विश्व केन्द्रमा’ विषयक अन्तिम प्यानल छलफलमा टीकाराम यात्री, अनुराग बस्नेत र विप्लव प्रतीकले सहभागिता जनाउनुभएको थियो। उनिहरूले नेपाली साहित्यको अन्तर्राष्ट्रिय अनुवाद, डिजिटल प्रवर्द्धन र विश्वव्यापी पहुँच विस्तारबारे जोड दिए ।

कार्यक्रमको अन्त्यमा निर्देशक ऋषि राम अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए। सम्मान कार्यक्रम र नेटवर्किङ चियारकफीसँगै दिनभरि चलेको किताब जात्रा नयाँ दिल्ली २०२६ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। यस कार्यक्रमले भारत र नेपालबीच साहित्यिक, सांस्कृतिक तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Views: 55

प्रतिक्रिया

सम्बन्धित खबर