सुबास बस्नेत, नयाँ दिल्ली। इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स (इन्फा) को पहिलो संस्करण नयाँ दिल्लीमा फेब्रुअरी १ देखि ३, २०२६ सम्म आयोजना हुने भएको छ । संभवत भारतमा नेपाली चलचित्र जगतको लागि हुन लागेको यो पहिलो ऐतिहासिक कार्यक्रम हो। नेपाली चलचित्रको प्रवर्धन तथा सम्मान गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको इन्फाद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ।
प्रतियोगिताको लागि इन्फाले सन् २०२५ मा प्रदर्शनमा आएका नेपाली कथानक चलचित्रको आवेदन आह्वान गरेको छ । ७ जनवरी २०२६ सम्म फिल्म बुझाउन सकिने छ । यस अवसरमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा अन्य प्राविधिक विधामा समेत सम्मान प्रदान गरिने रेडकार्पेट अवार्ड समारोह हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी, समीक्षक सहभागी हुने कार्यक्रममा प्रिमियर शो, विशेष प्रदर्शनी र सांस्कृति प्रस्तुति समेत हुनेछन् ।

फेस्टिभलको प्रमुख जुरीको रुपमा नेपालबाट अभिनेता कृष्ण मल्ल रहने छन्। त्यस्तै जुरी सदस्यहरूमा निर्देशक तुलसी घिमिरे, अभिनेता सुनिल थापा, अभिनेत्री विपना थापा र अभिनेता अवतार साहनी रहने छन् । फेस्टिभल आयोजनाको मुख्य उद्देश्य भनेको अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवर्धन गर्नु हो। साथै नेपाल भारत बीच सहकार्य र व्यवसायिक विस्तारको लागि साझा मञ्च सिर्जना गर्नमा यस फेस्टिभलले टेवा दिनेछ।
इन्फाका अध्यक्ष राजेन्द्र घिमिरेका अनुसार ‘इन्फा दिल्ली २०२६ हाम्रो चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ । यस कार्यक्रममार्फत नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुऱ्याउने हाम्रो दृढ संकल्प छ।’ त्यस्तै महोत्सव निर्देशक (नेपाल) जनकदीप पराजुलीले कार्यक्रमले नेपाल-भारतको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनुको साथै भारतस्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रलाई लोकप्रिय बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको बताएका छन् ।

महोत्सवमा फिल्म प्रदर्शनको अतिरिक्त प्यानल छलफल, अन्तर्वार्ता तथा टक शोहरू आयोजना हुने छन् । जसको उद्देश्य नेपाललाई छायांकन गन्तव्यको रुपमा प्रवर्धन गर्नु, सहकार्यका सम्भावना खोज्नु तथा भारत र नेपालबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु रहेको इन्फाकी प्रवक्ता आकांक्षा शाहले बताएकि छन्।
इन्फाको निर्देशक तथा इभेंट अर्गनाईजर अनिता क्षेत्री, फेस्टिवल क्रिएटिव निर्देशक उपेन्द्र सिंह ठाकुर, कानुनी सल्लाकार तथा सहजकर्तामा वरिष्ठ अधिवक्ता प्रेम छेत्री रहेका छन्। महोत्सव रंग भवन ऑल इंडिया रेडियो, संसद मार्ग, नयाँ दिल्लीमा आयोजना हुने छ।









