सुबास बस्नेत, नयाँ दिल्ली | सुनौली नाका देखि दिल्ली हिडेको श्री शुभसाईत ट्रावल्सको बस सोमबार राति उत्तर प्रदेशको बलराम्पुरमा दुर्घटना भई आगलागि भएको थियो। आगलागि हुँदा ३ नेपालीको बसमा ज्युदै जलेर मृत्यु भएको थियो। बस दुर्घटनाको १८ घन्टा बित्दा पनि ट्राभल एजेन्सीहरूले यात्रुको विवरण दिन सकेका छैनन्।
भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा दुर्घटना भएर आगो लागेको बसमा सवार ४५ जना नेपाली यात्रुमध्ये ११ जना मंगलबार साँझ बुटवल पुगेका छन्। सामान्य घाइते भएका ती यात्रु रूपन्देहीको सुनौली र कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुटवल पुगेका हुन्। उनीहरूले बुटवल पुगेर आफूले टिकट काटेको ट्राभल एजेन्सीमा सम्पर्क गरेर थप उपचारका लागि अस्पताल गए। तीमध्ये ६ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
सोमबार राति २ बजेतिर भारतीय नम्बरको युपी२२एटी ०२४५ नम्बरको बस बलरामपुरमा मालवाहक ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा तीन जना यात्रुको ज्यान गएको छ भने २४ जना घाइते छन्। बुटवलका ११ वटा ट्राभल्स एजेन्सीमार्फत् ४५ जना नेपाली यात्रु लिएर गएको उक्त बस भारत–नेपाल सीमा सुनौली हुँदै दिल्ली जाँदै थियो।
बुटवलमा उपचाररत घाइते यात्रुहरूका अनुसार ट्रकसँग ठोक्किएको बस केही मिनेटमै दनदनी बलेर खरानी भएको थियो। ट्रकसँग ठोक्किएर सय मिटर पर पुगेको बसमाथि बिजुलीको हाइटेन्सन लाइनको खम्बा ढलेको थियो।
दुर्घटनामा सामान्य घाइते भएर मंगलबार बुटवल आइपुगेका केही यात्रुसँग सेतोपाटि सम्बाददाताले गरेको कुराकानी अनुसार पश्चिम नवलपरासीको बर्दघाटका निशान्त ज्ञवाली र क्षितिज श्रेष्ठ तिनैमध्येका हुन्। उनीहरू रोजगारीका लागि विदेश जाने योजनामा थिए। नेपालबाट भन्दा भारतबाट जान सजिलो हुने भन्दै उनीहरू सोमबार नयाँदिल्ली जाँदै थिए। उनीहरूले दुई दिनअघि नै बुटवल राजमार्ग चौराहाको राना होलिडे टुर्स एन्ड ट्राभल्सबाट प्रतिव्यक्ति १६ सय भारतीय रूपैयाँ तिरेर टिकट लिएका थिए।
उनीहरूले टिकट काटेको बस साँझ ५ बजे छुट्ने भनेकाले साढे ४ बजे नै उनीहरू राजमार्ग चौराहास्थित ट्राभल्सको कार्यालय पुगिसकेका थिए। साढे ५ बजेतिर बस आए पनि सबै यात्रु जुटाएर हिँड्दा साँझ ७ बजिसकेको थियो। उनीहरूसँगै बुटवलका ११ वटा टुर्स एन्ड ट्राभल्सबाट टिकट काटेका यात्रु संकलन गरी सोमबार दिल्ली पठाउने गाडीको संयोजन श्री शुभ साइत टुर्स एन्ड ट्राभल्सले गरेको थियो।
त्यसमा बुटवलका राना होलिडे ट्राभल्सबाट ३ जना, आकांक्षा ट्राभल्सबाट ६ जना, नमस्ते मुनलाइटबाट ४ जना, शुभसाइतबाट १४ जना, सप्तकोशीबाट ६ जना, सीताबाट १ जना, सुपामैत्रीबाट १ जना, अकलादेवीबाट २ जना, देवचुलीबाट ३ जना, जय मनकामनाबाट ४ जना र सुनौलीको मिथिला ट्राभल्सबाट १ जना गरी ४५ जना यात्रु थिए।
अलग अलग ट्राभल्सबाट टिकट लिएका उनीहरूलाई बुटवलबाट सुनौलीसम्म नेपाली नम्बर प्लेटको बसमा लगेपछि त्यहाँबाट यूपी २२ एटी ०२४५ नम्बरको भारतीय बसमा चढाइएको निशान्त र क्षितिजले बताए। यूपी २२ एटी ०२४५ भारतीय नम्बरको बस जुन श्री शुभ साइत टुर्स एन्ड ट्राभल्सको रहेको छ जसका संचालक दामोदर भण्डारी रहेका छन्।
उनीहरू सुनौलीबाट अगाडि बढ्दा रातको १० बजेको थियो। ‘बसको ब्याट्रीमा समस्या भएर होला स्टार्ट नभएपछि मर्मत गरेर लैजाँदा दुई घन्टा ढिलो भएको थियो,’ आकांक्षा ट्राभल्सका सञ्चालक जीवन अधिकारीले भने। गाडी मर्मत गरेर लगिए पनि बलरामपुर पुग्दासम्म आधा दर्जनभन्दा बढी ठाउँमा रोकिएको थियो। मध्यरात गाडी दुर्घटनामा पर्दा अधिकांश यात्रु मस्त निद्रामा थिए। क्षितिज श्रेष्ठ भने मोबाइल चलाइरहेका थिए। सुनसान सडकमा तीव्र गतिमा गुडिरहेको बस एक्कासि ड्याम्म गर्दै ठोक्किएको आवाजले आफ्नो होसहवास उडेको उनी बताउँछन्। त्यही बेला सँगैको सिटमा निशान्त मस्त निद्रामा थिए। क्षितिजले हतार हतार निशान्तलाई ब्युँझाए। दुवै जना साइडको सिसा फुटाएर बाहिर निस्किए। कतिपय अरू यात्रु पनि सिसा फुटाएर बाहिर निस्किरहेका थिए। केहीलाई उनीहरूले मिलेर बाहिर निकाले।
‘हामी दुई जना मिलेर १०-१२ जनालाई बाहिर निकाल्यौं। केही आफै सिसा फुटाएर बाहिर निस्किनुभयो। कतिपय भित्रै हुनुहुन्थ्यो,’ निशान्तले भने, ‘हामीसँगै एक जना दिदी पनि सिसा फुटाएर बाहिर निस्किनुभएको थियो। उहाँले आफ्नी आमा भित्रै रहेको बताउनुभएको थियो।’ उनले अगाडि भने, ‘बसमा आगो लागिरहेकाले पड्किन्छ भन्ने डरले नजिक जान सकेनौं। केही बेर अलि टाढा बसेर हेर्यौं।’ बसको सिसा फुटाउँदा हातमा सामान्य चोट लागेका उनीहरू घटनास्थल वरपरका स्थानीयको सहयोगमा सुनौली हुँदै मंगलबार दिउँसो २ बजेतिर बुटवल आइपुगेका थिए।
यो दुर्घटनाले विभिन्न कामका लागि स्थलमार्ग हुँदै भारत जाने सीमावर्ति क्षेत्रका नेपाली यात्रुहरूले झेल्नुपरेको दुरावस्था उजागर गरेको छ।बुटवलका ट्राभल्स एजेन्सीहरूले दुर्घटना भएको १८ घन्टा बितिसक्दा पनि कुन यात्रु कहाँका हुन् र को-को घाइते भए वा मृत्यु हुनेहरू कहाँका हुन् भन्ने जानकारी दिन नसकेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले बताए। ‘मैले बस चढेर गएका यात्रुहरूको नामावली मागेको छु,’ उनले भने, ‘ट्राभल्स एजेन्सीका व्यवसायीहरूले संकलन गर्दैछौं भन्नुभएको छ।’
घाइतेहरूको उपचारमा पनि समस्या देखिएको छ। बुटवल बस्दै आएकी नेपालगन्जकी रिचाई योगी आफूले टिकट काटेको ट्राभल एजेन्सीले उपचारमा बेवास्ता गरेको बताइन्। उनले श्री शुभ साइत ट्राभल्सबाट टिकट काटेकी थिइन्। पारिवारिक कामले दिल्ली जाँदै गरेकी रिचाइको दाहिने हात भाँच्चिएको छ। ‘मसँग भएको सबै पैसा गाडीमै जल्यो। साथमा एक रूपैयाँ छैन, टिकट काटेको ट्राभल्सले उपचार गरेर बिमामा दाबी गर्नुहोला भनेर हिँड्यो,’ रिचाईले भनिन्, ‘उपचार नपाएर अस्पतालमा अलपत्र छु।’ वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विष्णु देव गिरीले घाइतेलाई उपचार नगरी हिँड्ने ट्राभल्सलाई सम्पर्कमा ल्याएर उपचार सुरू गराइएको जानकारी दिए।
साझाबिचार:
दर्जनौ भन्दा बढी ट्राभल्स मिलेर टिकट काट्ने अनि कमिसनको आधारमा टिकट बेच्ने कुन सवारी कहाँ पुग्यो अथवा कुन अवस्थामा छ भन्ने कसैलाई चासो हुदैन् हुन्छ त् केबव कमिसनको मात्र। विशेस गरि अहिले दिल्ली नेपाल यतायात एक ट्रेन्ड बजारीकरण बनेको छ। बुटवलको ट्राफिक चोक र चौराह अनि दिल्लीको सरोजिनी नगर पकौडा मार्केट यी ट्राभल्सहरुको अड्डा बनेको छ। हुन् त् दिल्लीका अन्यठाउहरु लाजपथ नगर, कास्मिरी गेट, मायापुरी, बदरपुर लगाएतमा पनि बर्चोस्सो छ।
यी ट्राभल्स व्यवसायीहरुले (धेरैले) बस किन्दैन। भारतीय यातायातका पुराना बसहरु भाडामा लिन्छन अनि दिल्ली बुटवल नेपाली यात्रुहरुलाई लैजाने-ल्याउने गर्छन। यसमा ट्राभल्सको मात्रै नाम हुन्छ अनि चार-पांच वटा ट्राभल्सको एउटा सामान्य रुमलाइ साझा कार्यालय बनाएका हुन्छन। यिनीहरुको विशेस धन्दा भनेको एउटा सवारीलाई टिकेट बेचे बापत एउटा सामान्य दलालले एउटै टिकेटमा करिव दुइ सय देखि हजार सम्म कमाउछन। तर यो सबैमा लागु हुदैन केहीका बसहरुपनि छन् तर ति न्यून छन्।
अहिले दिल्ली नेपाल यतायात एक ट्रेन्ड बजारीकरण बनेको छ। जसले ति पुरानी ट्राभल्स व्यवसायीहरु जसले बर्षौ पहिले लाखौ-करोडौ लगाएर बस किनेका अनि अफिस स्थापना गरेकाहरु ओझेलमा छन्। तर त्यता पट्टी कसैको ध्यान जादैन।
दिनानुदिन नायाँ-नायाँ ट्राभल्स कम्पनिहरुको आगमन भईरहेको छ। यिनीहरुको लापरवाही दिनानुदिन बढ्दो छ। भारतका लगभग धेरै राज्यहरु बाट नेपालीहरुले यस्ता खाले ट्राभल व्यवसाय गरिरहेका छन्। सेवा भन्दा पनि धन्दाको व्यापार बनेको यो व्यवसाय प्रति बिडम्बना कसैको ध्यानाकर्षण छैन। भारत प्रवासमा रहेका नेपालीहरुको हकहितमा बोल्ने र अविभावक बनेको निकाय नेपाली राजदुतावास नया दिल्ली यस विषयमा मौन छन्। यस विषयमा यथाशीग्र भारतमा रहेका नेपाली ट्राभल्स व्यवसायीहरुसंग नेपाली राजदुतावा नयाँ दिल्लीले समन्यव गरि प्रभाकारी भूमिका खेल्न जरुरि छ। अन्यथा यस्ता ज्युदै जलेर खरानी बनेका यात्रुहरु बस दुर्घटनाको २४ घन्टा बित्दा पनि ट्राभल एजेन्सीहरूले यात्रुको विवरण दिन नसक्नु आफैमा एउटा लज्जाको विषय हुने छ।








