Sajha Bichar
'

नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने पक्का भएको छ।


Author Image
बिहिवार, फागुन २४, २०८०

काठमाडौं। नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने पक्का भएको छ।

नयाँ सत्ता समीकरणमा रहेका एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग २१, जनता समाजवादी पार्टी (जसपा) सँग १२ र एकीकृत समाजवादीसँग १० सिट रहेको छ। यी दलहरुको सांसद संख्या १५३ पुगेको छ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएका छन्। चार दलीय गठबन्धनको ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे पनि जनता समाजवादी पार्टी बिस्तारित मन्त्रिपरिषदमा सहभागी भइसकेको छैन।

तर ८ बुँदे सहमतिमा हस्ताक्षर नगरेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ। गत वर्षको पुस १० को समीकरणमा रहेका राप्रपाको ठाउँमा यसपटक एकीकृत समाजवादी प्रवेश गरेको छ।

यसअघि सरकारमै रहेका जनमत, नाउपा र लोसपाले भने अहिलेसम्म कुनै प्रष्ट निर्णय गरिसकेका छैनन्। सत्ता समीकरण बदलिएपछि विस्तार भएको प्रचण्ड मन्त्रिपरिषद्‍मा चार जना महिला मन्त्री बनेका छन्।

एमालेबाट दुई, माओवादी र रास्वपा बाट एक-एक जना महिलाले मन्त्री बन्ने अवसर पाएका छन्। २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बनेका छन्।

तीन उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठ पहिलो वरियतामा छन्। त्यसपछिको वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई राखिएको छ। एमालेले उपप्रधानसहित आठ वटा मन्त्रालय पाएको छ।

माओवादीले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय राखेको छ। रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिँदा नेकपा (एस) ले भने दुई मन्‍त्रालय पाएको छ।

Views: 58

प्रतिक्रिया

सम्बन्धित खबर