Sajha Bichar
'

प्रवासी नेपाली संघ भारतको आठौँ पूर्ण बैठक तथा विस्तारित भेला नयाँ दिल्लीमा सुरु


Author Image
शनिवार, साउन २३, २०८३

सुबास बस्नेत / नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिको आठौँ पूर्ण बैठक नयाँ दिल्लीमा शनिबार सुरु भएको छ। दुई दिनसम्म चल्ने बैठकमा संगठनको वर्तमान अवस्था, व्यवस्था, भावी कार्ययोजना तथा नवौँ अधिवेशनका लागि आयोजक समिति गठनलगायतका विशेष विषयमा छलफल हुने आयोजकले जनाएको छ।

उद्घाटन सत्रको कार्यक्रममा नेकपा (एमाले) का पूर्व महासचिव तथा पूर्व उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका छन्। त्यसैगरी विशिष्ट अतिथिहरूमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रवास इन्चार्ज हरि घिमिरे र केन्द्रीय सदस्य गीता अधिकारी उपस्थित रहेका छन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि ईश्वर पोखरेलले अग्रगति र प्रगति अनुसारका चुनौतीहरू नेकपा (एमाले) ले अहिले भोगिरहेको बताएका छन्। नेतृत्वलाई इंगित गर्दै उनले “अपडेटेड हुन नसके आउटडेटेड भइन्छ” भन्ने धारणा व्यक्त गरेका छन्। अहिलेको अवस्था केही चुनौतीपूर्ण भए पनि नेतृत्व पङ्क्तिमा सुधार र सुदृढीकरण आवश्यक रहेको उनले बताए। साथै कार्यकर्तालाई हतोत्साहित नहुन समेत आग्रह गरे।

उनले एक समयमा नेपाली राजनीतिको उद्गमस्थल नै भारत रहेको उल्लेख गर्दै भने, “एउटा समय थियो, विदेश अथवा देशबाहिर भनेको भारत नै थियो, तर अहिले परिस्थिति बदलिएको छ। त्यहीअनुसार नेता तथा कार्यकर्ता पनि बदलिनुपर्ने आवश्यकता छ।” भारतमा रहेका नेपालीहरूले देश र पार्टीका लागि पुर्‍याएको योगदान ऐतिहासिक रहेको पनि उनले उल्लेख गरे।

विशिष्ट अतिथिका रूपमा बोल्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रवास इन्चार्ज हरि घिमिरेले नेपालको चुनावी नतिजामा भारतीय प्रवासी नेपालीहरूको महत्त्वपूर्ण भूमिका रहेको दाबी गरे। साथै भारतमा रहेका नेपालीहरूको अधिकार, हैसियत र पहिचान सुनिश्चित हुनुपर्ने माग पनि राखे।

प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष नारायण प्रसाद हुमागाईले भारतमा रहेका नेपालीलाई पनि नेपाल सरकारले गैरआवासीय नेपाली सरहको दर्जा दिनुपर्ने बताए। उनले प्रवासमा आर्जन गरेको पुँजी, प्रविधि र सीपलाई स्वदेशभित्र ल्याउन सरकारले आवश्यक वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे।

दुई दिनसम्म चल्ने बैठक प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष नारायण प्रसाद हुमागाईको अध्यक्षता तथा सचिव गिरिराज बेल्वासेको सञ्चालनमा आईटीओस्थित हरकिशन सिंह सुरजित भवनमा चलिरहेको छ। कार्यक्रममा संघका विभिन्न राज्यमा रहेका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा राज्यका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

Views: 173

प्रतिक्रिया

सम्बन्धित खबर