नयाँ दिल्ली । ०६ सेप्टेम्बर २०२४
हरितालिका तीज भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथिको दिनमा मनाइन्छ। धार्मिक मान्यता अनुसार यस तिथिमा माता पार्वतीले भगवान शिवलाई श्रीमानको रुपमा प्राप्त गर्न कठोर तपस्या गरेको जनविश्वास छ। माता पार्वतीको यो तपस्या देखेर भगवान शिवले उहाँलाई दर्शन दिनुभयो र माता पार्वतीको दीर्घ ईच्छा अनुरुप उहालाई अर्धांगिनीको रूपमा स्वीकार गर्नुभयो। त्यसैबेलादेखि अबिवाहित नारिले आफुले मनपर्ने श्रीमान पाउन र बिवाहित महिलाहरुले आफ्नो श्रीमानको दीर्घायुको कामनाको लागि हरितालिका तीजको व्रत बस्ने मान्यता छ। यस व्रतमा महिलाहरूले नयाँ लुगा लगाउने, सोह्र श्रृंगार गर्ने तथा भगवान शिव र माता पार्वतीको पूजा-अर्चना गर्ने गर्दछन्।
हिन्दू नारीहरुको आस्था एवं श्रद्धाको महान पर्व हरितालिका तीज कार्यक्रमलाई नेपाली भाषि गोर्खाली समुदायको साँस्कृतिक पहिचान बनाउने सामाजिक उदेश्यका साथ हाम्रो स्वाभिमान ट्रष्ट पतंजलि हरिद्वारले यहि ०६ सेप्टेम्बर २०२४ का दिन बिहान ११:०० बजे देखि बेलुकी ६:०० बजे सम्म नयाँ दिल्लीको आइटिओ स्थित इन्दिरा गान्धी स्टेडियममा हरितालिका तीज महोत्सव २०२४ को सफल आयोजना सम्पन्न गरेको छ। स्वामी रामदेव जी महाराज एवम् आचार्यश्री बालकृष्ण जी महाराजको पावन सनिध्यमा आयोजित उक्त कार्यक्रमका श्री बागेश्वर धाम सरकार पंडित धिरेन्द्र शास्त्री जी मुख्य अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लोकप्रिय कलाकार मिलन लामा र मेलिना राई तथा स्थानीय कलाकारहरुको अभूतपूर्व सांगीतिक एवं सांस्कृतिक प्रस्तुति रहेको थियो। संसारकै ठूलो इन्डोर तीजको कार्यक्रमको रुपमा लिइएको “हरितालिका तीज महोत्सव २०२४” लाई नयाँ दिल्ली आइटिओ स्थित इन्दिरा गान्धी स्टेडियममा दिल्ली एनसीआरमा रहेका करिब २५ हजार नेपालीभाषि दर्शकहरु द्वारा बिशेष हर्षोल्लासका साथ भब्य रुपमा मनाइएको छ। कार्यक्रममा नेपालीभाषि आमा-बुवा दाजु-भाई दीदी-बहिनीहरुका लागि निःशुल्क प्रवेश रहेको थियो।
इंदिरा गांधी इंडोर स्टेडियममा हाम्रो स्वाभिमान न्यास पतंजलि द्वारा आयोजित हरितालिका तीजको कार्यक्रममा बोल्दै संस्थाका मुख्य संरक्षक स्वामी रामदेव जी महाराजले धर्म, संष्कृति र संस्कार जागृतिमा बिशेष बिशेष जोड दिदै भन्नुभयो- “अहिलेको बदलिदो परिवेशमा, प्रतिस्पर्धी विश्वमा पतंजलि राष्ट्र निर्माणको अभियानमा जुटेको छ र यो कार्य धर्म, संस्कृति र अध्यात्मको बिना सम्भव छैन। नेपाली भाषा केवल नेपालको मात्र भाषा होइन तथापि भारतको पनि राष्ट्रिय भाषा हो, यसप्रति हामी सबैलाई गर्व छ र यसै गर्वको अनुभुतिको अभिब्यक्त स्वरुप हो हरितालिका तीजको राष्ट्रिय स्तरको आयोजना।”

हाम्रो स्वाभिमान ट्रष्ट देशभरका नेपाली गोर्खाली समुदायको एकमात्र अभिभावक संस्था हो जसले नेपालीभाषि समुदायमा स्वाभिमान जागृत गराउदै भाषा, कला, संस्कृति संरक्षण तथा प्रचार-प्रसारका लागि पछिल्लो एक दशक देखि अभुतपूर्व कार्यहरु गर्दै आईरहेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित पूज्य बागेश्वर धाम सरकारले नेपाली गोर्खाली समुदाय तथा संस्कृतिको प्रशंसा गर्दै भन्नुभयो पुरै बिश्वको सबैभन्दा इमानदार एवम् मेहेनति नेपाली जाती कुनै कार्य गर्न होस् या मनोरंजन गर्न होस् पुरै तन्मयका साथ गर्ने गर्दछन्।
संस्थाका संस्थापक अध्यक्ष आचार्य बालकृष्ण जी महाराजले सामाजिक सद्भावना सन्तुलित गराउन यस किसिमको राष्ट्रिय आयोजनाको आवस्यकता रहेको बताउदै भारत देश निर्माणमा नेपाली गोर्खाली समाजको त्याग, बलिदान र योगदानको ध्यानाकर्षण गराउनु भयो। साथै कार्यक्रममा बिशिष्ट अतिथिको रूपमा उपस्थित, दार्जिलिंग बाट युवा सांसद राजू बिष्टले गोर्खाली पहिचान, गोर्खाली संस्कृति र गोर्खा गौरवको कुरा उठाउँदै गोर्खाको सपना गोर्खाल्यान्ड चाँडै पुरा हुनेछ भन्नुभयो।

कार्यक्रममा भारतका लागि नेपाली कार्यवाहक राजदूत महामहिम डॉ सुरेंद्र थापाले सुभकामना मन्तव्य राख्दै स्वाभिमानको विशाल कार्यक्रम प्रति गर्व महसुस हुने बताउनु भयो । देशका विभिन्न राज्यबाट प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा लगभग २५००० भन्दा बढि दर्शकको उपस्थिति रहेको थियो। भारत तथा नेपालबाट आएका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार मेलिना राई, मिलन थापा तथा गोविन्द पौडेलले सांगितिक प्रस्तुति मार्फत सम्पूर्ण दर्शकहरुलाई नेपाली लोकधुनमा झुम्न बाध्य बनाएक थिए ।
हरितालिका तीज महोत्सवको अवसर पारेर यसै कार्यक्रममा हाम्रो स्वाभिमान ट्रस्ट पतञ्जलि योगपीठ हरिद्वार द्वारा प्रत्येक बर्ष देशभरका नेपाली/गोर्खाली समुदायबाट समाजका बिभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनु हुने ब्यक्तित्वलाई स्वामी रामदेव जी महाराज एवम् आचार्यश्री वालकृष्ण जी महाराजको बाहुलीबाट “हाम्रो गौरव अवार्ड” द्वारा सम्मानित गर्ने परम्परालाई कायम राख्दै यस बर्ष पनि समाज, अर्थ, ज्ञान, साहित्य, कला र शौर्य गरि ६ वटा बिधामा समाजका सफल ब्यक्तित्वहरुलाई “हाम्रो गौरव अवार्ड २०२४” प्रदान गरिएको छ।

हाम्रो गौरव अवार्ड २०२४ बात विभूषित हुनुहुने ब्यक्तित्वहरु:
१. डाॅ. एकलब्य शर्मा, (पद्मश्री अवार्डी, पर्यावरण बैज्ञानिक)
२. श्री गणेश शर्मा, (निर्देशक, जेबीडी ग्रुप)
३. डाॅ. लक्ष्मी प्रसाद शर्मा, (वरिष्ठ तकनिकि बैज्ञानिक)
४. श्री कृष्ण सिंह मोक्तान, (वरिष्ठ साहित्यकार, अवकाश प्राप्त प्रहरी महानिरिक्षक)
५. श्री चुलिलाल घिमिरे, (चलचित्र निर्माता एवं निर्देशक)
६. कमांडेंट(जेजी) पूनम थापा जुंधारे, (प्रथम महिला एयर कंट्रोल ॲाफिसर)
शिव र पार्वतीको संवाद तथा विवाहको पौराणिक महत्व रहेको यस हरितालिका तीज पर्वलाई महोत्सवको रुपमा सफल पार्न सम्पूर्ण महिला कार्यकर्ताहरु दिनभर निर्जला उपवासमा रहेर पनि जिम्मेवारीका साथ कार्यक्रमको आयोजना तथा संचालन गर्नमा विशेष योगदान रहेको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यबाद दिदै आयोजक संस्था हाम्रो स्वाभिमान ट्रष्टका अन्तर्राष्ट्रिय संयोजक डाॅ. मोहन कार्की भन्नुहुन्छ- “वसुधैव कुटुंबकम्” भन्ने आशयका साथ हाम्रो स्वाभिमान ट्रष्टले राष्ट्रीय एकता, अखंडता तथा सामाजिक सद्भावनाका साथ जातिय स्वाभिमान जागरण गर्ने अभियानका लागि स्वामी जी महाराज तथा आचार्यश्री को नेतृत्वमा हामी सबै प्रतिबद्ध छौ र सालैभरि यस प्रकारका सामाजिक तथा साँस्कृतिक महत्वका कार्यक्रमहरुको आयोजना गर्दै हाम्रो संस्कृतिलाई संवर्धन तथा सामाजिक सौहार्दता बनाई राख्न एक अभियानको रूपमा प्रयास जारी रहने बताउनु भयो।
केंद्रीय संस्कृति संयाेजक घनश्याम शर्मा एवम दिल्ली समिति अध्यक्ष रमेश बस्नेतको संयोजकत्वमा आयोजीत युक्त कार्यक्रममा केंद्रीय संगठन मंत्री साध्वी देव अदिति, ट्रस्टी राहुल कुंवर, केंद्रीय खेल सचिव रतन मल्ल सहित सम्पूर्ण आयोजक समितिको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन केंद्रीय युवा प्रभारी वेद प्रकाश शर्मा तथा दिल्ली राज्य की संगठन सचिव अन्जु थापा र हेमराज बराईलीले गर्नुभएको थियो।






