कोरोना भाइरसको संक्रमण र अनुभवहरु: डा. विष्णु विलास अधिकारी

भरतपुर ११, वसेनी, चितवन ।
संसारमा धनजनको चिहिल विहिल पारेको कोभिड–१९ अथवा कोरोना भाइरसको संक्रमणवाट म पनि चोखो रहन सकिन । मलाई हाल सम्म पनि कुन श्रोतवाट संक्रमण भयो होला भन्ने कुनै जानकारी भएन । तरकारी, दुध, फलफूल, भान्साका सामाग्रीहरु किन्न जाँदा वा पैसाको माध्यमवाट हो कि भन्ने अनुमान मात्र गरेको छु । यस रोगको संक्रमणमा मेरो केहि नौलो अनुभव रहृयो । मैले ५ गते भाद्रमा तरकारीवारीमा दिनभर जस्तै काम गरेको थिएँ । मलाई भोलीपल्ट ६ गते शरिर दुख्यो । मैले अघिल्लो दिनको कामको प्रभावले होला भन्ने ठानें, आराम गरें तर ७ गते पनि दुख्न छाडेन । एक्कासी ८ गते ज्वरो आयो र ९ गते सम्म रहयो । ज्वरो आएपछि शरिर दुख्न छाड्यो । ज्वरो १०१ डिग्री सेल्सियस सम्म आयो । मैले सिटामल खाएर ज्वरो घटाएँ । भाद्र १० गते ज्वरो हट्यो तर हल्का भएको अनुभव भएन र ११ गते दिउँसो भरतपुर अस्पतालमा गएर स्वाव दिएँ । त्यसपछि म स्वयं केहि निगरानीसाथ परिवार सँग केहि दुरि कायम गर्न थालें, तर घरवाटै चलिरहेको अनलाइन कक्षा पठनपाठनलाई रोकिन । भाद्र १४ गते अस्पतालले कोरोना पोजेटिभको जानकारी गराउँदा दिउँसो विद्यार्थीहरुको प्रपोजल सेमिनारमा सहभागी भैरहेको थिएँ । पोजेटिभ भएपछि वडावाट स्वास्थकर्मी र प्रहरीहरु आएर मेरो घर सिलवन्दि भयो र घरमै आइसोलेसनमा वस्न भनियो । यो खवरले मलाई केहि दुःखी त वनाया,े तर दुःख मानेर पनि त म सँग कुनै उपाय थिएन । घरको तेस्रो तलामा भएको एक कोठामा एक महिनाको गुप्तवास पछि आज ११ गते ल्याव रिपोर्ट नेगेटिभ पाए पछि मात्र म वन्दि वसाई पछि फुकुवा भएँ ।

औषधी उपचार र खानपिनमा मेरो अनुभव

१. ज्वरो पछि मेरो शरिर केहि कमजोर भै केहि थकाई लागेको अनुभव भयो । घाँटी सफा थिएन । घाँटीमा केही कफ अडकेको, भित्र केहि सुनिएको जस्तो महसुस भयो र स्वाद तितो महसुस भयो । मलाई पानी पनि तितो हुन्थ्यो । मैले एलेग्रा ३ दिन (२ चक्की प्रति दिन) तथा ५ दिनको लागि १, १ चक्की एन्टीवायोटिक औषधी खाएँ, जसको उद्धेश्य घाँटी सफा होस र इन्फेक्सन नहोस् भन्ने थियो ।

२. मैले घरायसी औषधीको रुपमा गुर्जोको लहरा उमालेको पानी विहान र वेलुका १, १ ग्लास, मरिच, टिमुर, अदुवा, वेसार, कालो नुन, ज्वानो, जिरा आदिको धुलो मिसाएर तातो पानीमा एक चिम्टी राखेर विहान र वेलुका १, १ ग्लास पानी खाएँ । गुर्जो धेरै खाँदा प्रेसर घटाउने र केहि सर्दी वा चिसो वनाउने महसुस भयो ।

३. खानपिनमा नियमित खानाको अलावा पोसिला परिकारहरु दुध, अण्डा, फलफूल, तरकारी, गेडागुडीको झोल आदि मा अघिपछि भन्दा केहि वढि जोड दिइयो ।

४. नियमित विहान वेलुका हल्का ब्यायाम र मनतातो पानीले नुहाउने (विहन, वेलुका), ७, ८ घण्टाको नियमित सुताई, दिनभर साथी भाई, इष्टमित्र, विद्यार्थीहरु सँग गफगाफ, फेस वुक हेर्ने आदि नियमित दिनचर्यामा विते ।

कोरोना प्रति मेरो धारणाः
१. कोरोना अन्य भाइरस जस्तै एक भाइरस हो । स्वस्थ शरिर र राम्रो प्रतिरोध शक्ति भएका मानिसहरुमा यसको संक्रमण भएमा पनि अधिकांश मानिसहरु (८० प्रतिसत भन्दा वढि) मा सामान्य लक्षणहरु देखिएर आफै सन्चो भएको देखिएको हुँदा खासै आत्तिन पर्ने देखिदैन । । यसले कस्तो (सामान्य वा कडा) लक्षण देखाउदैछ भन्ने कुरा सुरुका दिनमा नै अनुमान गर्न सकिने रहेछ । यदि आँफुमा विभिन्न रोग (वढि प्रेसर, सुगर, मृगौलामा समस्या वा ठुला अपरेसन गरेका वा वृद्ध, वृद्धा) मा अलिक विषेश रुपमा ख्याल गर्नुपर्नेे हो कि भन्ने मेरो विचार छ ।

२. यो सामान्य भाइरास हो डराउनै पर्दैन भन्ने कुरा सत्य होइन । यसले रोगसँग लडने प्रतिरोध शक्ती कम भएका मानिस भेटेमा जुनसुकै उमेरका मानिसको पनि ज्यान लिन सक्छ । तसर्थ कुनै रोग नभएका यूवा यूवतीहरुकोलागि यो सामान्य वन्न सक्छ, तर उहाँहरुकै वुवा, आमा, हजुर वा, हजुर आमालाई जटिल वन्न सक्छ । तसर्थ यसवाट जोगीन स्वास्थ मन्त्रालय वा विश्व स्वास्थ संगठनले भने जस्तै सामाजिक दुरी कायम गर्ने र घर वाहिर मानिसहरुको सम्पर्कमा जाँदा मास्क लगाउनु नितान्त आवश्यक देखिन्छ ।

३. यो रोग लागिहाल्यो भने नआत्तिने र आँफुलाई कोरोना संक्रमणको पुष्टी भएको जानकारी समाजमा दिएमा यसले कुनै प्रतिकुल प्रभाव पर्ने देखिएन । यदि सवैलाई जानकारी भएमा इष्टमित्रहरुवाट सर सल्लाहा, उत्प्रेरणा वा आश्वासन, शुभकामना दिने, खोजीनिती गरिरहने ब्यवहारले मन नआत्तिने र मनमा धैयता कायम गर्न सकिने, मन दरो हुने र समय विताउन पनि सजिलो भएको मेरो अनुभव छ ।

४. मेरो होम आइसोलेसन (घरको गुप्तवास) सुखद नै रहयो । आफ्नो घरमा वस्नको लागि सुरक्षित कोठा, वाथ रुम, हिडन वा कसरत गर्न वा मेडीटेसन गर्न ठाउँ भएमा कोरोना संक्रमित ब्यक्ति धरमै वस्दा सुखी हुने मेरो अनुभव छ । घरपरिवारवाट रेखदेख, खानपान, वाफ लगाउने, जरिवुटी, तातोपानी आदिको उपलब्धता, सुरक्षित वसाई आदि कारणले घर ठिकै लाग्यो । तर लक्षण देखिने खालको आक्रमण भएमा डक्टरको सल्लाहा र सिफारिसमा मात्र घर वस्ने, अन्यथा तुरुन्त अस्पतालमा सर्नुपर्छ होला, अन्यथा स्वास प्रस्वासको समस्याले खतरा निम्तन सक्छ ।
५. यो संक्रमित भएको वेलामा परिवारका सदस्यहरुवाट सदभाव र सहयोगको अत्यन्त आवश्यकता महसुस गरेको छु । यस अवधिमा म र मेरो घर परिवारलाई आवश्यक सामाग्रीहरु जुटाउन सहयोग गर्ने मेरो कान्छो भाई पुस्पराज अधिकारीको (जो ५०० मीटर टाढा आफ्नै घरमा वस्छ) ठुलो सहयोग रहयो भने मलाई चाहिने सम्पुर्ण खानपान, तातोपानी र जरिवुटी औषधीको यथोचित समय मै ब्यवस्थापन गर्ने मेरी जिवन सँगीनीको अतुलनिय सहयोग रहयो र उनलाई कोरोना संक्रमण हुनवाट जोगाउन म पनि सफल भए,ँ सो को लागि भगवानलाई पनि धन्यवाद दिन चाहान्छु ।

अन्त्यमा, मेरो यो संत्रमित अवस्थामा (करिव १ महिना) आइसोलेसनमा वस्दाको समयमा मेरा आफन्तजनहरु (इष्टमित्र, दाजुभाई, दिदी वहिनी, साथीभाई, मेरा विद्यार्थी भाई वैनाहरु, डाक्टरहरु) ले दिनुभएका शुभकामना, सदभाव, प्रेरणा,र जानकारीकोलागि म आभारी छु र उहाँहरु सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छु । धन्यवाद ।
डा.बिष्णु बिलास अधिकारी

You might also like

Leave A Reply

Your email address will not be published.